Call us today +977-1-4475783 / 9851241622

About Returnee Migrant Nepal ?

रिटर्नी माइग्रेन्ट नेपालका बारेमा

रिटर्नी माइग्रेन्ट नेपालका बारेमा

चिनारी र  वर्तमान अवस्था

चरम आर्थिक पछौटेपन, देशमा व्याप्त बेरोजगारीको समस्या, अप्राविधिक र गुणस्तरहीन शिक्षा अनि भाबिस्यप्रतिको अन्योलतासंगै पारिवारिक जिम्मेवारी, बालबच्चाको पालन पोषण र उचित सिक्षादिक्षाका लागि लाखौँ नेपाली युवाहरु बैदेशिक रोजगारीलाई अंगालेर बिदेशिएका छन् र यो क्रम निरन्तर चलिरहेको छ  । ती मध्ये केहि स्वेच्छाले, केहि कार्यरत कम्पनि बन्द भएर, केहि अस्वस्थ भइ उपचार गराउन नसकेर, केहि दुर्घटनामा परि अंगभंग भएर, केहि कम्पनीका पदाधिकारीको डर-धम्कि-त्रासले गरेर, केहि कम्पनिसंगको करार अबधि सकिएर, अनि धेरै चाहिं अब त आफ्नै देश, आफ्नै परिवार, आफन्त र समाजमा बसेर केहि रोजगारी,उद्यम गरेर जीवनयापन गर्ने उद्देस्यले स्वदेश फर्किरहेका छन् ।      

दशकौंसम्म राज्यले आफ्ना नागरिकलाई उपलब्ध गराउने सबै सेवा, सुबिधाबाट बन्चित रही तत्-तत् समयमा धेरथोर रेमिटेन्स मार्फत यो राज्यको अर्थतन्त्र निर्माणको सारथि बनेका तप्का हुन् बैदेशिक रोजगारबाट फर्किएका नेपाली । कुनैसमय रेमिटेन्स लक्षित अंक भन्दा घट्दा पांच तारे होटेलमा सम्मेलन गरेर कसरी रेमिटेन्स बढाउन सकिन्छ भनेर गोष्ठी गर्ने राज्य त्यहि ढुकुटी निर्माणमा योगदान गरेका आफ्ना नागरिक स्वदेश फर्किएपछी कस्तो अबस्थामा छन्, उनीहरुले आर्जन गरेको पुंजी कसरी प्रयोग भइरहेको छ, उनीहरुले हासिल गरेको प्रविधियुक्त सीपलाई कसरी राष्ट्र निर्माणमा लगाउन सकिन्छ भनेर खोजीनिती नै गरिरहेको छैन । बास्तवमै राज्यको खोजीको बिषय बन्न नसकेको तर समृद्धिको यात्राको ठुलो सम्भावना बोकेको सीप, अनुभव र धेरथोर लगानीयोग्य पुंजी लिएर बसेका छन् स्वदेश फर्किएका पूर्व प्रवासी श्रमिकहरु ।

कठिनाई / समस्या

विदेशबाट फर्किने नेपाली श्रमिकको संख्या दिनानुदिन बढ्ने र राज्यले यो जनशक्तिलाई रोजगारी र उद्यममा जोड्ने कुनै नीति, योजना र कार्यक्रम निर्माण नगरेका कारणले चरम बेरोजगारीको अवस्था श्रीजना हुँदैछ । मिहिनेत गर्न सक्ने उमेर, जोश जागर, विदेशबाट आर्जित शिप, प्रबिधि र धेरथोर लगानी साथमा हुँदाहुँदै पनि लामो समय देश बाहिर रहेका कारण बैदेशिक रोजगारीबाट फर्कने अधिकांसलाई यहाँको समाज, बातावरण र बजार अनुरुप घुलमिल हुन असहजता हुँदै आएको छ ।  विदेशबाट फर्केपछि स्वदेशमा रोजगारीको अवसर खासै नहुने हुँदा बैदेशिक रोजगारीबाट फर्केकाहरुले धेरथोर लगानी गरेर एकल/ साझेदारी वा सामुहिक ब्यबशाय शुरु गर्नुको बिकल्प देखिदैन ।

बिदेशमा रहंदा रोजगारीमा मात्रै केन्द्रित हुनुपर्ने कारणले गर्दा ब्याबशायिक ज्ञानको कमि, नेपाली बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु, ब्यबस्थापकीय ज्ञानको अभाव, सरकारी तवरबाट व्यवशायिक तालिम, अभिमुखीकरण, परामर्शको ब्यबस्था नहुनु, वित्तीय साक्षरताको बारेमा जानकारी नहुनुले लगानीयोग्य पुंजी सदुपयोग हुन नसकेको परिस्थिति समस्याको रुपमा खडा भएको छ ।

सामाजिक पुनर्स्थापना

हजारौं प्रवासी श्रमिकले प्रवासमै रहेर देशमा भएको बिभिन्न किसिमको परिवर्तनमा पुर्याएको योगदानको स्वदेश फर्किएपछी परिवार, समाज, सामाजिक तथा राजनीतिक संघसंस्था र राष्ट्रले कदर गरेको छैन  । फलत: बिभिन्न किसिमका सामाजिक योगदान पुर्याएर फर्किएकाहरु सहज रुपमा समाजमा पुनर्स्थापित हुनै सकेका छैनन्, समाजमा घुलमिल हुनै सकेका छैनन् । न त राज्यले नै यसबारे आजसम्म कुनै ठोस कदम चालेको छ ।  समाजले विदेशबाट फर्केका नागरिकलाई खुल्ला हृदयले सहजताका साथ हरेक क्षेत्रमा स्वीकार्न नसकिरहेको तथ्य पनि छरपष्ट देखिन्छ । अझ विदेशबाट फर्किएका महिलाका हकमा समाज सहिष्णु बन्न सकेको छैन । तसर्थ बैदेशिक रोजगारबाट फर्केकाको हकमा योगदानको आधारमा सामाजिक उत्तरदायित्व सहितको पुनर्स्थापना अर्को संबेदनशील बिषय हो । 

संगठित हुनुपर्ने आवस्यकता

दशौँ बर्ष पहिलादेखि बैदेशिक रोजगारबाट स्वदेश फर्किएर आफ्नै गाउँठाउँमा केहि गरौँ भन्ने नागरिकहरुको परिवार, समाज र रास्ट्रप्रति समर्पित भावना, अग्रसरता, सकृयता र पहलकदमीलाई साथ् दिने, यी नागरिकको कदममा सहयोग पुर्याउने, उनीहरुको भावनालाई कदर गर्ने कुनै निकाय, समूह वा संस्था देखा परेनन् ׀ बर्षौंसम्म आफ्ना परिवारबाट टाढा रहेर रेमिटेन्स मार्फत देशको अर्थतन्त्रमा ठुलो योगदान पुर्याएर स्वदेश फर्किएका नागरिकका बारेमा न राज्यले खोजीनिती गर्यो, न त कुनै सामाजिक, राजनीतिक वा अन्य संघसंस्थाले यी नागरिकका समस्या र सम्भावनाका बारेमा सोच्ने, बोल्ने, लेख्ने र खोज्ने अग्रसरता नै देखाए ׀ फलत: बैदेशिक रोजगार मार्फत लाखौँ नेपालीले शिकेको शिप, अनुभव र लगानीयोग्य पुंजीको सहि उपयोग हुन सकेन ।

राज्यकै लागि यातिठुलो योगदान गरेको यो बर्ग स्वदेश फर्किएपछी यसरी अलमलमा पर्नु र राज्यले कहीं कतै समेट्न नसक्नु दुखद पक्ष हो । आफैं संगठित नभईकन राज्यले तथ्यांक राख्ने, उचित रुपमा सम्बोधन गर्ने, चिनारी राख्ने, दीर्घकालीन योजना सहित नीति र कार्यक्रम मार्फत सहुलियत प्रदान गर्ने दिशामा तदारुकता नदेखाएका कारण बैदेशिक रोजगारबाट फर्किएकाहरु देशव्यापीरुपमा एकत्रीत/संगठित हुनु जरुरी देखियो ।

एकातिर विदेशमा श्रम गरेर आर्जित रकम अनुत्पादक क्षेत्रमा प्रयोग भइरहेको, अर्कोतर्फ आधुनिक प्रबिधि, शिप र अनुभवयुक्त जनशक्ति बेरोजगार भएर भौतारिने अबस्थाको श्रीजना हुने स्थिति बाक्लिंदै गएको छ ׀ बर्षौंसम्म देश बाहिर रहंदा टुटेको सामाजिक सम्बन्ध र स्थानीय बजारसंगको दुरीका कारण लगानी भएका पुँजीले समेत उचित प्रतिफल दिन सकिरहेको अवस्था छैन ׀ कहीं कतैबाट पनि साथ सहयोग र सहुलियत नापाएपछी आफ्नै देशमा केहि गरौँ भन्ने उद्देस्य बोकेर स्वदेश फर्किएका नागरिकलाई पुन: विदेशिनुपर्ने बाध्यात्मक अवस्था समेत श्रीजना हुदै गएको छ ׀ यिनै विषम परिस्थितिका बीच बैदेशिक रोजगारबाट स्वदेश फर्किएका नागरिकहरुलाई एउटै संजालभित्र जोडेर समाजमा सहज रुपमा पुनर्स्थापना हुनसक्ने, सामुहिक लगानी मार्फत उत्पादन र बितरणमा सरिक हुनसक्ने, आफ्ना धेरथोर पुंजी लगानी गरि त्यसमा राज्यको प्रत्यक्ष सहयोग, सहुलियत, लगानी समेत भित्र्याएर सामुहिक परियोजना संचालन गरि रोजगारी र उध्यमशिलाताको विकास गर्ने र सबै पक्षबाट नजर अन्दाज गरिएको यो ठुलो समुहलाई राज्यको नीति,कार्यक्रम र योजना संगै जोडेर अघि लैजान पहल गर्ने उद्देस्यका साथ हामीले “रिटर्नी माइग्रेन्ट नेपाल” को परिकल्पना गरेका हौँ  ।

त्यसैले बैदेशिक रोजगारबाट फर्केकाहरु आफैं एकजुट भएर राज्यसामु आफ्नो चिनारी सहित राज्यको विकास र समृद्धिको यात्रामा उनीहरुले विदेशबाट आर्जन गरेको शिप, प्रबिधि र लगानीलाई उत्पादक क्षेत्रमा समेटेर सहयात्रीको रुपमा अघि बढाउन बैदेशिक रोजगारबाट फर्केकाहरु “रिटर्नी माइग्रेन्ट नेपाल” गठन गर्दै यसभित्र आवद्ध भएर अघि बढ्नु परेको हो  ।

संख्यात्मक उपस्थिति

स्वयं राज्य नै बैदेशिक रोजगारबाट स्वदेश फर्किएका आफ्ना नागरिकको तथ्यांकबाट बाहिर छ । तथापी बिगत तीन दशकमा बैदेशिक रोजगारीमा गएका नागरिकको अंकको आधारमा गएका मध्ये केहि लाख स्वदेश फर्किसकेको अनुमान लगाउन गाह्रो पर्दैन । बैदेशिक रोजगारीमा जाने र फर्किनेको संख्या एउटा पक्ष हो  तर यो बिषयले छुने समुदाय भने सामान्य कल्पना भन्दा निकै बृहत छ । वर्तमान अवस्थामा लाखौंको संख्यामा वैदेशिक रोजगारीमा रहेका युवा, केहि लाख स्वदेश फर्केका र तिनमा आश्रीत अनगिन्ति परिवारको चासो रहेको यो विषय अत्यन्तै गम्भीर छ ।

अन्त्यमा, बैदेशिक रोजगारबाट फर्किएर सफल उद्यम गरिरहेका पनि केहि उदाहरण छन् तर औंलामा गन्न सकिने त्यस्ता उद्यमीहरु यति ठुलो समूहभित्र नगण्य हुन् । हामीले गत बर्षबाट अभियान संचालन गरेको प्रतिफल स्वरूप राज्यले स्वदेश फर्किएकलाई १० लाख सम्मको सहुलियत कर्जा कार्यक्रम सार्वजनिक पनि गरेको छ । केहि नभईरहेको अबस्थामा यो एउटा ठुलै उपलब्धिको रुपमा हामीले हेरेका छौं तर त्यसको कार्यविधिमा धेरै परिमार्जनको आवस्यकता रहेको छ । राज्यका तर्फबाट अन्य थुप्रै कार्यक्रमको हामीले अपेक्षा लिएका छौं । स्वदेश फर्किएकाले आर्जित सीप र पुंजीको प्रयोग गर्ने र त्यसमा सरकारले उचित सहयोग गर्ने हो भने सम्वृद्धि टाढाको यात्रा पनि होइन भन्ने हाम्रो बुझाई छ ।

राज्यसँगको अपेक्षा

१. सामाजिक उत्तरदायित्व सहितको पुनर्स्थापना

२. बित्तीय साक्षरता अभियान

३. नि:शुल्क व्यावसायिक तालिम तथा परामर्श

४. राज्यका विभिन्न निकायले नागरिकलाई उपलब्ध गराउने सबै किसिमको व्यावसायिक सहयोग, सहुलियत , अनुदानका बारेमा सहज ढंगले सूचना प्राप्त हुनसक्ने केन्द्रीकृत सूचना केन्द्रको स्थापना

५. राष्ट्रिय सीप परिक्षण बोर्ड मार्फत नियमित स्किल टेस्ट (सीप परिक्षण)को ब्यबस्था

६. ब्यबसाय संचालनका लागि सकेमा सहुलियत, नसकेमा सहज प्रक्रिया मार्फत कर्जाको ब्यबस्था

७. परियोजना धितोमा कर्जाको ब्यबस्था

८. बाझो रहेको जमिनमा कुनै शुल्क तिर्नु नपर्ने गरि सामुहिक कृषिका लागि सार्वजनिक आव्हान


 

सीपको उपयोगीता

हरेक नेपाली जुन पेशाका लागि बिदेश गए केही बर्ष काम गरेपछि उक्त पेशामा दक्षता हासिल गरेको छ । बास्तबमा हाम्रो देशको लागि सबैभन्दा ठूलो कमाई यहि हो । राज्यले आफ्ना नागरिकलाई सिप र दक्षतायुक्त बनाउन खर्चिनुपर्ने अरबौ रुपैयाँ यसरी जोगिएको छ । तर सिङ्गो जवानी र उर्जाशिल समय परिवार, समाज र देश बाहिर खर्चेर हासिल भएको सीप र दक्षतालाई आजसम्म राज्यले कहाँ उपयोग गर्यो वा त्यसको उपयोगिताको लागि कति पहल गर्यो खोजिको विषय छ । त्यस्ता सीप र अनुभवलाई अझै पनि स्वयं ब्यक्ति, सम्बन्धित परिवार र समग्र रूपमा राष्ट्रकै बिकासको प्रक्रियामा उपयोग गर्न राज्य किन अग्रसर भइरहेको छैन, किन कुनै कार्यक्रम र अभियान ल्याइरहेको छैन ? यसप्रति रिटर्नीहरुको रुश्टता सामान्य हो । संगै जोडिएको अर्को विषय के हो भने नयाँ प्रबिधिको पुर्ण बिकास नभएसम्म र ठुला मल्टिनेसनल कम्पनी नेपाल नभित्रीएसम्म नेपालीले बिदेशमा सिकेका सबै सीप नेपालमा हुबहु प्रयोग हुने अबस्था छैन । त्यसैले सिपकै आधारमा मात्रै सहुलियत कार्यक्रम ल्याउने, सिपकै आधारमा मात्रै काम गर भन्ने प्रवृत्तिले एकातिर ब्यक्तिको रुचिलाई निरुत्साहित गर्छ भने अर्कोतिर कम्पनीले सीप खुल्ने प्रमाणपत्र नदिएका हजारौं रिटर्नीहरु त्यस्ता कार्यक्रम भित्र अट्न सक्दैनन् । त्यसैले कार्यक्रम व्यबहारगत हिसाबले सजिला र सबै अट्न सक्नेगरी निर्माण गरिनुपर्दछ ।


 

समस्या संगैको सम्भावना

प्रस्न उठ्ला रिटर्नी आफैं चाहिँ के गरिरहेका छन् वा सबैकुरा सरकारमा भर परेर हुन्छ ? हो स्वदेश फर्किएपछि रिटर्नीहरुले केही न केही पेशा ब्यबसाय गरेकै छन् । तर लामो समय देश बाहिर रहनु परेका कारण उक्त अन्तरालले आफ्नै देशको विभिन्न परिवर्तन, बजार, नीति, नियम, प्रणाली र यहाँका मानिसहरूको सोचसंग घुलमिल हुन नसक्दा गरेकै पेशा ब्यबसाय पनि धर्मराइ रहेका छन् । यसले एकातिर बिदेशबाट आर्जित सम्पत्तीको जोखिम बढेको छ भने अर्कोतिर रिटर्नीहरुमा नैरास्यता उत्पन्न भइ पुनः बिदेसिनुपर्ने बाध्यात्मक परिस्थितिको श्रीजना हुँदैछ । यहि परिवेस र परिस्थितिमा सुधारको लागि राज्यले नीति र कार्यक्रममै रिटर्नीहरुलाइ सम्बोधन गरेर कार्यक्रम ल्याउनुपर्नेमा हामीले जोड दिएका हौं । देशमा श्रम गर्ने जनशक्तिको कमि रहेको र दक्षतायुक्त यति ठूलो जनशक्ति यत्तिक्कै अलमलिइ रहेको बर्तमान अबस्थामा सरकारको लागि यो तप्का ठूलो सम्भावनाको खानी पनि हो । सरकारले घोषणा गरेको "सुखी नेपाली समृद्ध नेपाल" र समृद्धिको यात्राको अग्रपंक्तिका सारथि यिनै नागरिक हुन् जो संग केही न केही सीप, अनुभव र धेरथोर लगानियोग्य पुजि साथमा छ । यो त्यस्तो समुह हो जसले श्रमप्रतिको सम्मान, मिहिनेत र इमान्दरिताको मूल्य बुझेको छ ।

 

के के गर्न सक्छन् बैदेशिक रोजगारबाट फर्किएकाहरु:

  1. सामुहिक आधुनिक कृषि र पशुपालन
  2. उत्पादन संकलन केन्द्र र शित भण्डार ब्यबस्थापन
  3. जनसहभागितामा आधारित सार्वजनिक यातायात
  4. उत्पादनमुलक उघ्योगधन्दा संचालन
  5. पर्यटनसंग सम्बन्धित आकर्षक ब्यबशायहरु
  6. पुष्प खेति
  7. आइटी क्षेत्रसंग सम्बन्धित ब्यबशायहरु
  8.  आधुनिक प्रबिधि बमोजिमको सेफ्टी एण्ड सेक्युरिटी प्रणाली
  9. प्रविधियुक्त निर्माण
  10. मोटर वर्कसप ग्यारेज (Motor Workshop Garage)
  11.  उद्यान ब्यबस्थापन ( Gardening & Landscaping)
  12. फेसन डिजाइन र ब्युटी सलुन (Fashion Design & Beauty Saloon)
  13. केयर गिभर सर्भिस (Care Giver service)
  14.  प्रविधियुक्त क्लिनिंग कम्पनि
  15.  सेक्युरिटी गार्ड कम्पनि

सँस्थागत गतिबिधि

राष्ट्रिय युवा परिषदको आयोजनामा २०७५ साल असार २७ मा काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित “बैदेशिक रोजगारबाट स्वदेश फर्किएका युवाहरुको राष्ट्रिय भेला २०७५” लाई प्रस्थान बिन्दु मानेर श्रावण २३ गते यो सँस्थाको स्थापना भएको हो । स्थापना पश्चात हालसम्म १५ वटा जिल्ला सम्मेलन र ३ वटा प्रदेश सम्मेलन सम्पन्न भइसकेको छ भने १० हजार भन्दा बढी सदस्यहरु सँस्थामा आवद्ध भएका छन् । ७ सदस्यीय एक लगानी बोर्ड गठन गरि सम्भावित परियोजनाहरूबारे छलफल चल्दै छ भने परियोजना संचालनका लागि उपयुक्त स्थानको खोजीमा सँस्थाको लगानी बोर्ड स्थलगत भ्रमणमा जुटेको छ । गठन भएका जिल्ला र प्रदेश समितिभित्र सामुहिक लगानीबारे छलफल सुरु भएको छ । बिभिन्न सरकारी निकायहरु, प्रदेश सरकार, बिभिन्न नगरपालिकाहरुसंग रिटर्नीहरु लक्षित कार्यक्रम ल्याउन र सामुहिक लगानीका परियोजना संचालनका लागि आवस्यक सहयोग र समन्वयको लागि नियमित रुपमा पहल तथा छलफलहरु भइरहेका छन् । सरकारले घोषणा गरेको १० लाखसम्म सहुलियत कर्जाका लागि सुचिकृत हुने निवेदन दिन आएका हजारौं सेवाग्राहीलाई बैदेशिक रोजगार प्रवर्द्धन बोर्डको हाताभित्र १ महिनासम्म नियमित रुपमा स्वयंसेवक खटाइएको, उक्त कर्जा प्रवाहमा रहेका धेरै असजिला र अव्यवहारिक प्रावधान परिमार्जनका लागि सम्बन्धित निकायमा आवस्यक पहल भइरहेको छ ।

 

उत्तम अधिकारी

(अध्यक्ष)

रिटर्नी माइग्रेन्ट नेपाल

98512 41622

abu1999@gmail.com